सरकारले हटायो आईजीपी कार्की



काठमाडौं। सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएको छ। उनलाई जिम्मेवारीबाट मुक्त गर्दै सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

उनलाई आईजीपी पदबाट मुक्त गर्दै प्रधानमन्त्री मातहत लगिएको हो।

पछिल्ला विवादास्पद घटनाक्रमहरूमा आइजीपी कार्कीको समेत भूमिका देखिएको भन्दै सरकारले उनलाई पदबाट हटाएको हो।

सिधै बर्खास्ती गर्दा कानुनी जटिलता पर्ने देखिएपछि मन्त्रिपरिषद्ले उनलाई प्रधानमन्त्री कार्यालय मातहत सारेको हो।

सरकारले एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको छ।

कार्कीलाई गत वर्ष कात्तिक २४ मा सुशीला कार्की नेतृत्वको सरकारले आइजीपीमा नियुक्त गरेको थियो। उनले कात्तिक २६ गतेबाट जिम्मेवारी सम्हालेका थिए। २४ भदौमा जेनजी आन्दोलनका बेलामा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए।

उनलाई के कारणले पदमुक्त गरेको भन्नेबारे सरकारले जवाफ दिएको छैन।

गत साता पत्रकार र मिडियाका कार्यालयहरूमा प्रहरी परिचालन गरी घरपकड गरिएको थियो। उक्त काममा प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूको दबाबमा भएको थियो। गैरकानुनी गिरफ्तार गर्ने लगायतका निर्देशन उनमाथि सचिावलयले नै दिएको खुलेका थिए।

प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बुधबार
प्रतिक्रिया