सुर्खेत । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्का र मन्त्रालयका प्रदेश सचिव अजीत कुमार कर्णबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन करार सम्झौता भएको छ।
सम्झौतामार्फत मन्त्रालयको वार्षिक नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयन गरी निर्धारित लक्ष्य हासिल गर्ने प्रतिबद्धता गरिएको छ। सम्झौतापछि मन्त्री खड्काले सचिव तथा महाशाखा प्रमुखहरूलाई विगतभन्दा फरक, प्रभावकारी र परिणाममुखी काम गर्न निर्देशन दिइन्।
मन्त्रालयमा आयोजित कार्यक्रममा उनले कार्यसम्पादनलाई औपचारिकतामा सीमित नराखी नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी नतिजा दिनुपर्नेमा जोड दिइन्। विकास, सुशासन, रोजगारी सिर्जना, उत्पादन वृद्धि र प्राकृतिक स्रोतको दिगो उपयोगलाई प्राथमिकतामा राखेर काम गर्न उनले आग्रह गरिन्।
सम्झौताअनुसार उद्योग तथा उद्यमशीलता प्रवर्द्धन, पर्यटन पूर्वाधार विकास, वन तथा जैविक विविधता संरक्षण, जलवायु परिवर्तन अनुकूलन, सीप विकास र रोजगारी सिर्जनाका कार्यक्रम सञ्चालन गरिनेछ। रारा ताल, काँक्रेविहार, बुलबुले उद्यान, कुपिण्डे दह र स्यार्पु ताललगायत पर्यटकीय गन्तव्यको विकास तथा स्थानीय उत्पादनको बजारीकरणलाई समेत प्राथमिकता दिइएको छ।
कार्यसम्पादन करारअनुसार कार्यक्रमको मासिक, त्रैमासिक र वार्षिक प्रगति विवरण पेस गर्नुपर्नेछ। मन्त्रालयका सचिवले मातहतका कार्यालयसँग समेत कार्यसम्पादन करार गरी कार्यक्रमको कार्यान्वयन र प्रगतिको अनुगमन गर्ने व्यवस्था गरिएको छ।
कार्यक्रममा बडादसैँको शुभकामना आदानप्रदानसमेत गरिएको थियो।








