काठमाडौँ। कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै काठमाडौं गोखार्जले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ।
सोमबारको पहिलो खेलमा काठमाडौंलाई ४ विकेटले हराउँदै काठमाडौंले दोस्रो खेलमा आएर पहिलो जित हात पारेको हो। काठमाडौ पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो।
काठमाडौंसँगको हारले कर्णालीको अपराजित यात्रामा पूर्णविराम लागेको छ। कर्णालीले तेस्रो खेलमा आएर पहिलो हार व्यहोरेको हो।
कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो। दोस्रो खेलमा विराटनगर किंग्समाथि ४ विकेटको जित निकालेको थियो।
कर्णालीले दिएको १ सय ८१ रनको लक्ष्य काठमाडौंले २ बलअगावै ६ विकेटको क्षतिमा भेट्टायो।
काठमाडौंका लागि रासिद खानले अर्धशतक पूरा गरे। राशिदले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गर्दा हुसैन तलातको बलमा क्याच आउट भए।
पाचौँ विकेटका लागि राशिद खान र करण केसीले ५५ रनको साझेदारी गरेपछि काठमाडौंले जितको आधार तयार पार्यो। करणले २० बलमा ४ चौका र २ छक्का सहयोगमा ४४ रन बनाउँदा सोमपालको बलमा अरिफुलको हातबाट क्याच आउट भए।
त्यसअघि तेस्रो विकेटका लागि आदिल आलम र राशिदले ५४ रनको साझेदारी गरेपछि काठमाडौ जित उन्मुख भएको थियो।
आदिलले २० रन बनाउँदा मार्क वाटको बलमा गुल्सन झा को हातबाट क्याच आउट भए।
१० बलमा ३ चौका सहयोगमा १६ रन बनाएका डेविड वार्नर सोमपाल कामीको बलमा बोल्ड आउट भए। स्मित पटेलले ९ र भिम सार्कीले ५ रन थपे। जनादन खान २२ र सन्तोष यादवले ५ रन बनाए।
कर्णालीका लागि हुसैन तलात र सोमपाल कामीले समान २ विकेट लिए। मार्क वाट र नन्दन यादवले समान एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको थियो।
ओपनर अरिफुल इस्लाम २२ बलमा ५ चौका र ३ छक्का सहयोगमा ४४ रन बनाउँदा शाहब आलमको बलमा डेविड वार्नरको हातबाट क्याच आउट भए।
मार्क वाट १७ रन बनाउँदा क्याच आउट नै भए। जिसन आलमले ७ र दिपक डुम्रेले ८ रन थप्दै पेभेलियन फर्के।
पाचौँ विकेटका लागि पवन सर्राफ र हुसैन तलातले ६५ रनको साझेदारी गरे। हुसैन ३० बलमा १ चौका २ छक्का सहयोगमा ४० रन बनाउँदा जहानदाद खानको बलमा हिट विकेटमा आउट भए।
१२ बलमा २ छक्का सहयोगमा २० रन बनाएका गुल्सन झा करण केसीको बलमा रासिद खानको हातबाट क्याच आउट भए। पवन सर्राफ २४ र सोमपाल कामी १ रनमा अविजित रहे।
काठमाडौका लागि करण केसीले २ विकेट लिए। शाहब आलम, जहानदाद खान, देव शाह र सन्तोष यादवले समान एक विकेट आफ्नो नाममा गरे।
आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ।
सुदूरपश्चिमले लिगमा चौथो खेल खेल्न लागेको हो। २ खेलमा हार र १ खेलमा जित निकालेको सुदूरपश्चिम दोस्रो जितको खोजीमा छ।
पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो। तेस्रो खेलमा भने विराटनगरसँग ३५ रनले पराजित भएको थियो।
चितवनले भने एक खेलमा जित निकाल्दा एक खेलमा अंक बाँडेको छ। वहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले हराएको चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्ससँग वर्षाले खेल प्रभावित हुँदा अंक बाँडेको थियो।









