कांग्रेस जनसम्पर्क समितिका ७ जना केन्द्रीय सदस्यमा निर्वाचित



काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट जनसम्पर्क समितितर्फका सातैजना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। महिला दुई सिटमा सीता सापकोटा र चन्दा अधिकारी निर्वाचित भएका छन्।

त्यस्तै, भारतबाट बालकृष्ण पाण्डे, युरोपबाट जितेन्द्रविक्रम शाही, एसिया तथा अमेरिकाबाट विद्याभूषण कार्की, मध्यपूर्वबाट पुरुषोत्तम खनाल र प्यासिफिक क्षेत्रबाट बलराम श्रेष्ठ निर्वाचित भएका छन्।

महिलातर्फ निर्वाचित सापकोटाले ३ हजार १ सय १३ र अधिकारीले २ हजार ८ सय ९६ मत प्राप्त गरे। क्षेत्रगत प्रतिनिधित्वतर्फ भारतबाट निर्वाचित पाण्डेले ३ हजार ८ सय २७, एसिया तथा अमेरिकाबाट निर्वाचित कार्कीले १ हजार ९ सय ३४, मध्यपूर्वबाट निर्वाचित खनालले २ हजार ७४, प्यासिफिक क्षेत्रबाट निर्वाचित श्रेष्ठले १ हजार ९ सय २० र युरोपबाट निर्वाचित शाहीले १ हजार ४ सय १२ मत पाए।

कांग्रेसले पहिलोपटक विधान संशोधन गरेर जनसम्पर्क समितिबाट सात केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेको हो। यसअघि जनसम्पर्क समितिका प्रतिनिधिहरू महाधिवेशनमा मतदाताका रूपमा सहभागी हुँदै आएका थिए। नयाँ व्यवस्थासँगै उनीहरूको प्रतिनिधित्व पार्टीको केन्द्रीय कार्यसमितिमा पनि सुनिश्चित भएको छ।

कांग्रेसका ४२ जनसम्पर्क समितिमध्ये यसपटकको महाधिवेशनमा २१ समितिले भाग लिएका थिए। निर्वाचितमध्ये महिला तर्फ सापकोटा र क्षेत्रगत प्रतिनिधित्वमा भारतबाट पाण्डेले सबैभन्दा बढी मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार
प्रतिक्रिया