जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीले वीरेन्द्रनगर–७, इत्रामस्थित डाक्टर डम्बर खड्काको घरमा आगजनी गरी पूर्ण रूपमा ध्वस्त पारेका छन्।
कर्णाली प्रदेश अस्पतालका पूर्वनिर्देशक समेत रहेका डा। खड्का भदौ २३ र २४ गते कैलाश मानसरोवर यात्रामा रहेका बेला भदौ २४ गते उनका घरमा आगजनी भएको हो। सोमबार सुर्खेत फर्किएका उनी जलेको घर देखेर भावुक बने। “जन्मथलोको सेवा गर्नु नै अभिशाप भयो, राज्यले हाम्रो जनधनको सुरक्षा गर्न सकेन,” उनले भने।
४० वर्षको जागिरे जीवनको कमाइबाट बनाइएको सो घरसँगै लाखौँ मूल्यका किताब, सुनका गहना, छोराको मेडल र मृतक श्रीमतीको सम्झनाको पियानोसमेत खरानी भएको खड्काले बताए।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काका भाइ भएकाले आन्दोलनकारीले राजनीतिक असन्तोषकै कारण उनका दाजुभाइहरूको घरलाई निसाना बनाएको बताइएको छ।
अघिल्ला विभिन्न आन्दोलनका क्रममा पनि उनको घर बारम्बार आक्रमणको निसाना बनेको उल्लेख गर्दै डा। खड्काले भने, “हामी आत्मबल घटाउँदैनौं, यहीँ बस्ने हो। आवश्यक परे जग्गा बेचेरै पुनर्निर्माण गर्छौं, राज्यले चाहे निःशुल्क संग्रहालयका लागि पनि दिन तयार छौं।”









