नेकपा (माओवादी केन्द्र ) का उपमहासचिव जनार्दन शर्मा प्रभाकर ले तोकिएको समयमा निर्वाचन हुनुपर्ने बताएका छन् ।
रेडियो सानीभेरीको कार्यक्रम आजका कुरा मा बोल्दै उनले समयमा निर्वाचन नभए देश थप जटिलतामा जाने चेतावनी दिए । संविधान रहेन भने राष्ट्र संकटमा पर्ने भन्दै उनले संविधानको रक्षाका लागि पनि निर्वाचन ढिला नगरी गर्नुपर्ने बताए । संसद् विघटन भयो भनेर आन्दोलन गर्नुपर्ने आवश्यकता नरहेको उनले स्पष्ट पारे ।
‘संविधानलाई बचाएर, अन्तरिम सरकारलाई सहयोग गर्दै छिटोभन्दा छिटो निर्वाचन गराउनुपर्छ,’ उनले भने, ‘यदि तोकिएको समयमा निर्वाचन नगरी पटक–पटक धकेलियो भने देश ठूलो संकटमा पर्छ ।’
साथै, उनले पार्टीभित्र नेतृत्व हस्तान्तरण र नेताहरूको सम्पत्ति छानबिन गर्ने माग आफूले निरन्तर उठाउँदै आएको र अहिले आएर त्यो सही सावित भएको बताए ।
‘सबै नेताको सम्पत्ति छानबिन गरौँ, दोषीलाई कारबाही गरौँ, नेतृत्व युवालाई हस्तान्तरण गरौँ भन्ने कुरा मैले उठाएको हुँ, तर मलाई किनारा लगाउने प्रयास भयो,’ उनले भने ।
अब पुरानो नेतृत्वबाट पार्टी चल्न नसक्ने भन्दै उनले नयाँ ढंगले पार्टी निर्माण गर्नुपर्ने र नेतृत्व युवाको हातमा आउनुपर्ने धारणा राखे । राजनीतिलाई कमाई खाने भाँडो बनाएकै कारण अहिलेको पुस्तामा राजनीतिप्रति आक्रोश बढेको पनि उनले बताए ।









