दुई सातामा रुस-युक्रेन युद्धविराम नभए कडा कदम चाल्ने ट्रम्पको चेतावनी



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधानतर्फ ठोस प्रगति नभए रुसमाथि कडा प्रतिबन्ध वा कर लगाउने ठूलो निर्णय लिने चेतावनी दिएका छन् ।

अगस्ट १५ मा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट भएको एक सातापछि ट्रम्पले शुक्रबार कडा चेतावनी दिएका हुन् । ‘म चाँडै निर्णय गर्नेछु । यो धेरै महत्त्वपूर्ण हुनेछ, चाहे त्यो ठूलो मात्रामा प्रतिबन्ध होस्, कर होस् वा दुवै,’ ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने ।

उनले युक्रेनमा हालै एक अमेरिकी कारखानामा भएको रूसी आक्रमणप्रति आक्रोश व्यक्त गरेको बीबीसीले जनाएको छ । आक्रमणबाट कारखानामा आगलागी भएको थियो र धेरै कर्मचारी घाइते भएका थिए ।

‘म यसबाट खुसी छैन, न त युद्धसँग सम्बन्धित कुनै पनि कुरामा,’ उनले भने, ‘रूस-युक्रेन युद्धमा जे भइरहेको छ त्यसबाट म खुसी छैन । यो कुन दिशामा जान्छ भन्ने कुरा अर्को दुई हप्तामा स्पष्ट हुनेछ ।’

ट्रम्पले रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बीचको प्रत्यक्ष भेटघाटको पनि वकालत गरे । ‘म चाहन्छु कि दुई नेताहरूसँगै बसून्। यदि उनीहरूले यसो गरेनन् भने यो किन भयो भनेर हेर्नुपर्नेछ,’ उनले भने ।

उनले आफ्नो कार्यकालमा सात युद्धहरू रोकेको र तीन सम्भावित युद्धहरू टारेको दोहोर्‍याए ।

यसअघि अगस्ट १८ मा, राष्ट्रपति जेलेन्स्की युद्ध अन्त्य गर्ने प्रयासहरूबारे छलफल गर्न युरोपेली नेताहरूसँग ह्वाइट हाउस पुगेका थिए। जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले पुटिन-जेलेन्स्की बैठक हुने बताइएको थियो । तर, अहिलेसम्म पुटिन-जेलेन्स्की वार्ता पनि निश्चित छैन ।

अगस्ट १५ मा अलास्कामा ट्रम्प र पुटिनबीच भएको शिखर सम्मेलन र त्यसपछि ह्वाइट हाउसमा भएको वार्तापछि पनि रूस र युक्रेन युद्धविराममा सहमत हुन सकेका छैनन् ।

प्रकाशित मिति : २०८२ भदौ ७ गते शनिबार
प्रतिक्रिया