काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)मा कार्यविभाजनको विषय पेचिलो बनेको छ । पार्टीभित्र कार्यविभाजनको विषय टुंगो नलाग्दा पदाधिकारी बैठक पनि प्रभावित भएको छ ।
माओवादीसँग गत जेठमा एकता घोषणा गरेको नेकपा समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ समूह)का नेता–कार्यकर्ताको कार्यविभाजन अझै टुंगो लाग्न सकेको छैन ।
माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बाह्रखरीसित कुरा गर्दै भने, “एकतामा आएका पार्टीका साथीहरूको जिम्मेवारीको विषयमा सकारात्मक छलफल भइरहेको छ । सन्तुलन मिलाउनुपर्छ भन्ने हामी सबैको प्रयास हो ।”
एकता घोषणा भएको नेकपा समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ) समूहका नेताकार्यकर्तालाई जनवर्गीय संगठन, मोर्चा, भूगोल र विभाग कहाँ लैजाने भन्ने विषयमा भने अझै निर्णय भइनसकेको प्रवक्ता सापकोटाले बताए ।
उनले भने, “हामी छलफलमै छौँ, एक–दुई दिनमै यो विषय टुंगो लाग्छ अनि पदाधिकारी बैठक आह्वान हुनेछ ।”
एकता गरेर आउने दलका नेता–कार्यकर्ताको कार्यविभाजनको विषयलाई लिएर मओवादी केन्द्रका केही नेताकार्यकर्ताले असन्तुष्टि जनाएका छन् । असन्तुष्टिलाई सम्बोधन गर्नेगरी पार्टीले कार्यविभाजनको तयारी गरेको छ ।
कार्यविभाजनलगायत अन्य विषयमा आन्तरिक गृहकार्य नपुगेको भन्दै भदौ ३ गते मंगलबारका लागि बोलाइएको पदाधिकारी बैठक बिनानिष्कर्ष सकिएको थियो । यस्तै, भोलिपल्ट भदौ ४ गते बुधबारका लागि बोलाइएको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो ।
पार्टीको कार्यविभाजनलाई लिएर उपमहासचिव जनार्दन शर्माले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका छन् । झन्डै एक वर्षअघि बसेको स्थायी समितिको बैठकले प्रदेशको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेसँगै सुरु भएको उपमहासचिव जनार्दन शर्माको विद्रोह अहिले सतहमा आएको हो ।
जनवादको विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव शर्माबीच आरोप–प्रत्यारोप नै चलेको थियो । मंगलबार (भदौ ३ गते) बसेको बैठकले पार्टी निर्माण र हस्तान्तरणको विषय स्थायी समिति बैठकको एजेण्डा नै बनाएको छ ।
यसअघि पनि प्रदेशको इन्चार्जहरू परिवर्तन गर्ने पार्टी बैठकको निर्णयमा उनले लिखित रूपमै असन्तुष्टि जनाएका थिए ।
अहिले आएर उनले पार्टी नेतृत्वको कार्यशैलीप्रति नै असन्तुष्टि जनाएका छन् । उनले पार्टीभित्र नीति निर्माण, पद बाँडफाँट र नेतृत्वको निर्णयप्रति असन्तुष्टि जनाउँदै विद्रोह गरेका छन् । यस्तै, आशा गरेको भूमिका नपाएपछि विद्रोहको रूपमा उनले असहमति जनाएका छन् ।
माओवादी उपाध्यक्ष पम्पा भुसालले पछिल्लो विवादको बचाउ गर्दै बाह्रखरीसित भनिन्, “हाम्रो पार्टीभित्र मिडियामा आएजस्तो केही छैन, पदाधिकारी बैठक नबस्नुको विविध कारण छन् । बुधबार बस्ने भनिएको बैठक उपसभामुखको विषयले रोकिएको हो, बिहीबार अध्यक्षज्यू पोखरा जानु भएकाले बैठक बस्न सकेन ।”
माओवादी सचिव राम कार्कीले नेतृत्वमा क्रान्तिकरणकै विषय उठान भएको बताए । उनले नेतृत्वको कार्यशैली नै परिवर्तन गर्नुपर्नेमा नेताहरूले पनि जोड दिएको बताए ।
बाह्रखरीसित उनले भने, “जनताले पार्टीको नेतृत्व र कार्यशैलीमाथि प्रश्न गर्न थालेका छन्, हाम्रो जनमतले नै त्यो देखाउँछ, अब शैली परिवर्तन गर्नुपर्छ ।”
कार्यविभाजन गर्दा यस विषयलाई सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ । माओवादी केन्द्रका प्रवक्ता सापकोटाले एकदुई दिनमै सबै विषय टुंग्याएर पदाधिकारी बैठक बस्ने बताए ।









