हैदराबादलाई हराउँदै कोलकाता बन्यो आईपीएल च्याम्पियन

काठमाडौं । फाइनलमा सनराइजर्स हैदराबादविरुद्ध आठ विकेटटको सहज जित निकाल्दै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ । आईपीएलको इतिहासमा कोलकाताको यो तेस्रो उपाधि हो । यसअघि कोलकाता सन् २०१२ र २०१४ को संस्करणमा च्याम्पियन बनेको थियो ।

आइतबार चेन्नाईमा जारी खेलमा हैदराबादले प्रस्तुत गरेको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

कोलकाताको जितमा वेन्कटेस ऐयरले सर्वाधिक अविजित ५२ रन बनाए । उनले २६ बलमा चार चौका र तीन छक्का प्रहार गरे । ओपनर रहमनुल्लाह गुबर्जले ३९ रन थपे ।

हैदराबादका कप्तान प्याट कुमिन्स र सहबाज अहमेदले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको हैदराबादले १८.३ ओभरका सबै विकेट गुमाएर ११३ रनमात्र बनाएको थियो । आईपीएलको इतिहासमा फाइनलमा बनेको यो नै अहिलेसम्मको सबैभन्दा सानो योगफल हो ।

हैदराबादका कप्तान प्याट कुमिन्सले सर्वाधिक २४ रन बनाए । आइदेन मार्करमले २०, हेनरिक क्लासेनले १६ र नितिश कुमार रेड्डीले १३ रन थपे ।

हैदराबादलाई कमजोर योगफलमा रोक्न कोलकाताका आन्द्रे रसेलले तीन विकेट लिए । मिचेल स्टार्क र हर्षित रानाले समान दुई विकेट लिँदा वैभव अरोरा, सुनिल नारिन र वरुण चक्रवर्तीले समान एक विकेट लिए ।



तपाईको प्रतिक्रिया