सुर्खेत, कारागार कार्यालय सुर्खेतमा मंगलबार कैदीबन्दीहरूको लागि निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा कर्णाली प्रदेश प्रहरी अस्पताल वीरेन्द्रनगर र नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको संयुक्त पहलमा कारागार कार्यालय सुर्खेतको पूर्ण सहकार्य भएको थियो ।
स्वास्थ्य शिविरमा कुल ४४५ कैदी बन्दीमध्ये २१३ जनाले प्रत्यक्ष स्वास्थ्य जाँच, औषधि वितरण र स्वास्थ्य परामर्श पाएका छन्। यसमा पुरुष १८५, महिला २७ र आश्रित बालक १ जना रहेका छन्।

मुख्य चिकित्सक टोलीमा प्रा.प्र.ना.उ. डा. श्याम कृष्ण लौडारी, प्रा.प्र.नि. डा. विवेक पन्थी र अन्य प्रहरी स्वास्थ्यकर्मीको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा कारागार कार्यालय प्रमुख माधव प्रसाद श्रेष्ठ, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष सुमन श्रेष्ठ, जि.प्र.का. सुर्खेत प्रमुख सुधिर राज शाही, ने.प्र.रा.सु. तथा ट्राफिक व्यूरो सुर्खेत प्रमुख भावेश रिमाल, कर्णाली प्रदेश प्रहरी गण प्रमुख प्रेम सागर के.सी., कारागार प्रशासक लक्ष्मी खरेल लगायत अन्य प्रमुख अधिकारी उपस्थित थिए।

जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा सञ्चालन गरिएको यस शिविरमा डाक्टरहरूले कैदीबन्दीहरूको स्वास्थ्य अवस्थाबारे गहिरो अध्ययन गरेका थिए। डा. लौडारीले बताएअनुसार, “शिविरमा विशेष गरी २५–३५ वर्ष उमेरका कैदीबन्दीमा छाला सम्बन्धी समस्या बढी देखियो। निद्रामा समस्या, हल्का डिप्रेशन र डर लाग्ने जस्ता मानसिक स्वास्थ्यका लक्षण पनि सामान्यतया भेटिए। उमेर ढल्केका कैदीमा मधुमेह र उच्च रक्तचाप जस्ता पुराना रोग पनि पाइयो।”
स्वास्थ्यकर्मीका अनुसार सुरुमा कैदीहरूले उपचारमा संकोच देखाए पनि प्रहरी र चिकित्सकको संयुक्त पहलले उनीहरू सहज भएर खुलेर आफ्ना स्वास्थ्य समस्या व्यक्त गर्न सक्षम भए।

स्वास्थ्य शिविरले शारीरिक स्वास्थ्य मात्र होइन, मानसिक स्वास्थ्य सुधार र सकारात्मक आत्मविश्वास जगाउन पनि ठूलो योगदान पु¥याएको चिकित्सक टोलीले बताए। उनीहरूले नियमित स्वास्थ्य परीक्षण, मानसिक परामर्श, स्वच्छता र पौष्टिक आहारमा निरन्तर ध्यान दिनुपर्ने सुझाव दिएका छन्।
“यस्ता स्वास्थ्य शिविरले केवल रोगको पहिचान र उपचारमा सहयोग पु¥याउँदैनन्, यसले कैदीबन्दीमा सुधार र पुनस्र्थापनाको भावना जगाउँछ। उनीहरूलाई समाजमा फर्कन प्रेरित गर्ने मुख्य पहल यही हो।” डा.लौडारीले थप बताए।
कार्यक्रमले देखाएको अर्काे महत्त्वपूर्ण पक्ष भनेको लामो समय बन्दी जीवन बिताइरहेका कैदीबन्दीहरूको स्वास्थ्य सुधारमा दीर्घकालीन रोग नियन्त्रणमा यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गरी स्वास्थ्य, मानसिक सुरक्षा र समग्र सुधारमा निरन्तरता दिनुपर्ने आवश्यकता रहेको डा. लौडारीले बताए ।









