घटेन स्थानीय तहको बेरुजु, १८ अर्ब ९० करोड नाघ्यो

सुर्खेत – कर्णाली प्रदेशका १० जिल्लाका ७९ वटा स्थानीय तहको बेरुजु बढ्दै गएको देखिएको छ । महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९/८० को छैँठौं प्रतिवेदन अनुसार यहाँका स्थानीय तहको बेरुजु १८ अर्ब ९० करोड ६१ लाख १० हजार बाँकी रहेको देखाएको हो ।

बेरुजु फस्यौट तथा सम्परीक्षणमा कर्णाली प्रदेशका ७९ स्थानीय तहको २०७८/७९ वर्षसम्मको कुल बेरुजु १५ अर्ब ८३ करोड ९७ लाख ४५ हजार रहेकोमा आर्थिक वर्ष २०७९/८० समायोजन तथा सम्परीक्षणबाट ४८ करोड ४८ लाख ५६ हजार फस्र्योट भई १५ अर्ब ३५ करोड ४८ लाख ८९ हजार बाँकी रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विगतका वर्षको बेरुजुसहित आर्थिक वर्ष २०७९/७९ को लेखापरीक्षणबाट थप भएको तीन अर्ब ५५ करोड १२ लाख २१ हजार र सम्परीक्षणबाट थप भएको नौ करोड ६२ लाख नौ हजार समेत गरी १८ अर्ब ९० करोड ६१ लाख १० हजार बेरुजु बाँकी रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । कर्णालीका रहेका ७९ स्थानीय तहमध्ये ७७ वटा स्थानीय तहले लेखापरीक्षक गराएका थिए । हुम्लाको अदानचुली र चंखेली गाउँपालिकाले लेखापरीक्षण नगराएको महालेखाले जनाएको छ ।



तपाईको प्रतिक्रिया